शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

घटस्थापनाको दिनदेखिनै सरकारी कार्यालयहरु विदा दिने बारे छलफल

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

शनिवार(हिजो) मात्र देशभर ५ हजार भन्दा धेरै संक्रमित बनेका छन् भने आधा भन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट पर्यटनमन्त्री योगेश भट्टराई संक्रमित बनेका छन् भने न्यायाधीशहरु, विभिन्न संस्था, सरकारी कर्मचारीहरु संक्रमित बनेसँगै कार्यालयहरु बन्द हुन थालेका छन् ।

कोरोना संक्रमणको पछिल्लो अवस्था जटिल र भयावह बन्दै गएसँगै सरकारी संयन्त्रहरु छलफलमा जुटेका छन् ।

यसैबीच कोरोना संक्रमणको पछिल्लो अवस्था र यसको नियन्त्रणको प्रयास, संक्रमण जोखिम न्यूनीकरण लगायतका विषयमा आज मुख्यसचिबको कार्यालयमा सचिबहरुको बैठक बसेको छ ।

संक्रमण रोकथामका लागि थप रणनीति चाल्ने विषयमा बैठकमा कुराकानी भएको स्रोतको भनाइ छ ।

उक्त बैठकपछि आजै साँझ बस्ने सीसीएमसीको बैठकले यसबारे थप निर्णय गर्ने आकलन गरिएको छ ।

सीसीएमसीको सिफारिशपछि सम्भवतः भोलिको क्याबिनेट बैठकले त्यससम्बन्धमा आवश्यक कदम चाल्ने जनाइएको छ ।

कसरी मनाउन दिने चाँड ?

कोरोना संक्रमतिको संख्या दैनिक रुपमा निकै बढिरहँदा सरकारले अस्पतालहरु थेग्न नसक्ने जनाइसकेको छ ।

सामान्य अवस्थामा अस्पताल नआउन सरकारले अपिल गरिरहेको छ । तर केही दिनपछि नेपालीको घर आगनमा वर्षको सबैभन्दा ठूलो चाँड दशैैं र तिहार आउँदैछ ।

त्यसबेलामा संक्रमण थप विस्तार हुने र अवस्था भयावह बन्ने सक्ने आकलन गरिएको छ ।

सचिबहरुको बैठकसमेत संक्रमणको जोखिम उच्च रहेको अवस्थालाई ध्यानमा राखेर सर्वसाधारणलाई नजिकिँदो दशैंलगायतका चाड पर्व कसरी मनाउन दिने भन्नेमा केन्द्रीत भएको छ ।

दुई विकल्पबारे छलफल

बैठकमा काठमाडौं उपत्यका भित्रने र बाहिरिनेमाथि पूर्ण रुपमा रोक लगाएर जो जहाँ छ त्यही दशैं मनाउन लगाउने र संक्रमित देखिएका स्थानमा सिल्ड गरेर अन्य स्थानको अवस्था सुचारु गर्ने बारे छलफल भएको छ ।

छलफलमा केहीले विशेषगरी सबैथरि यातायात र सरकारी कार्यालयको गतिविधिका कारण कोरोना संक्रमण बढेको औंल्याउँदै त्यसमा रोक लगाउनुपर्ने बताएका छन् ।

त्यस्तै यसपटक घटस्थापनाको दिनदेखिनै सरकारी कार्यालयहरु विदा दिने बारेसमेत छलफल भएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *