असोज २३ गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा बजाइने गरिने डिजे साउण्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आदेश जारी गरी कुनै पनि कार्यक्रममा डिजे बजाउन प्रतिबन्ध लगाएका हुन् ।
रौतहटमा धार्मिक, सामाजिक एवम् राजनीतिक लगायतका कार्यक्रममा चर्को स्वरमा डिजे बजाइँदा ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सदभावमा प्रतिकूल असर परेको र त्यसबाट दुर्घटना समेत निम्तिएकाले यस्तो कदम चालिएको प्रजिअ यादवको आदेशमा उल्लेख छ ।

जिल्ला सुरक्षा समिती, जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको संयुक्त बैठकले पनि रौतहट जिल्लाभित्र डिजे साउण्ड सिस्टम बन्देज गर्न सिफारिस गरेको थियो ।
डिजे साउण्ड सिस्टमले शान्ति सुरक्षा भङ्ग हुने, समुदायमा बाधा विरोध र जनस्वास्थ्यमा गम्भीर असर हुने जिप्रका रौतहटको निष्कर्ष रहेकाले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख छ ।
प्रतिबन्ध लगाएपछि पनि डिजे साउण्ड सिस्टमको प्रयोग गरे सिस्टम जफत गरी कानुनी कारवाही गरिने आदेशमा उल्लेख छ ।
