काठमाडौंको स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तु पाटे बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा गएको प्रहरीको टोलीले स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट पाटे बाघको छालासहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिका–८ घर भएका २४ वर्षीय सानुकान्छा तामाङ छन् ।
प्रहरीका अनुसार उनीहरुले धादिङका एक स्थानीयबाट ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको बयान दिएका छन् ।
काठमाडौंमा ल्याएर ६० लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको पनि उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।
उनीहरुले दशैंको खर्च जुटाउनका लागि भनेर ३५ लाखमा बाघको छाला किनेर ६० लाखमा बिक्री गर्न लागेको प्रहरीलाई बताएका छन् ।
