आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पञ्जाबलाई हराउँदै मुम्बईकाे जित ;आइपीएल

असोज १६ काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ। बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्‍यो।  एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रनमात्र जोड्न सक्यो।

पन्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट भए। मुम्बईका जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चाहरले दुई दुई विकेट लिए। ट्रेन्ट बोल्ट र कुनाल पाण्याले एक एक विकेट हात पारे। बुमराहले चार ओभरमा १८ रन मात्र दिए। मुम्बईले चार खेल खेल्नेक्रममा दोस्रो जित हात पारेको हो। त्यति नै खेल खेलेको पन्जाबको भने तेस्रो हार हो।

पन्जाबले टस जितेर पहिला बलिङ रोजेपछि  मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्यो। मुम्बईले अन्तिम समयमा विस्फोटक ब्याटिङ गर्‍यो। कायरन पोलार्डले २० बलमा ४ छक्का र ३ चौकासहित अविजित ४७ रन जोडे।

यस्तै हार्दिक पाण्ड्याले ११ बलमा २ छक्का र ३ चौकासहित अविजित ३० रन बनाए। २० औँ ओभरमा  कृष्णप्पा गोथामलाई पोलार्डले लगातार तीन छक्का प्रहार गरे। त्यस ओभरमा पाण्ड्याले पनि एक छक्का प्रहार गरे। १९ औँ ओभरमा मोहम्मद सामीलाई पोलार्डले लगातार तीन चौका प्रहार गरेका थिए। त्यस ओभरमा पाण्ड्याले पनि एक चौका हिर्काए। मुम्बईले अन्तिम पाँच ओभरमा मात्र ८९ रन जोड्यो। त्यसमा पनि अन्तिम तीन ओभरमा मात्र ५९ रन जोड्यो।

टोलीका लागि सर्वाधिक रन भने कप्तान रोहित शर्माले जोडे। उनी ७० रन बनाएर आउट भए। उनले ४५ बलमा तीन छक्का र ८ चौका प्रहार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *