बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल

 काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यकासहित कम्तीमा ५२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका मुख्य कार्यालय, सात वटा प्रादेशिक कार्यालय, पाँच वटा मुख्य शाखा कार्यालय, २३ वडा शाखा कार्यालय तथा १६ वटा डिपो कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सहुलियत पसल सञ्चालनको निर्णय र मोडालिटीको बारेमा आज बस्ने बैठकले निर्णय गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।सहुलियत पसल बाहेक खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैँमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइनेछ ।

अघिल्लो वर्ष दशैँ असोजको पहिलो साता नै भएकाले भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो । उपत्यकामा तीन वटा घुम्ती पसलसहित साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालन गरेको थियो ।
यसअघिका वर्षमा पहाडी तथा हिमाली जिल्लामा सुपथ मूल्य पसलहरु सञ्चालन गरेकोमा यो बर्ष तराईमा समेत पसल सञ्चालनको तयारीमा कम्पनी लागेको छ ।

उपत्यकामा अनलाइन सपिङ
काठमाडौँको थापाथली, सुर्यविनायक, रामशाह पथ, लगनखेल, नख्खुबाट अनलाइन सपिङ गर्न सकिने व्यवस्था गरेको छ । पसलमा सुपथ मूल्यमा नुन, चामल, चिनी, गेडागुडी किनमेल गर्न पाउने सूचना अधिकारी सुवेदीले बताउनुभयो ।काठमाडौँ चक्रपथभित्र निशुल्क होम डेलिभरीको समेत व्यवस्था भएको उहाँले बताउनुभयो । आजको बैठकले देशभरिका सुपथ मूल्य पसल डिपो तथा शाखा कार्यालयबाट सुपथ मूल्यमा सामान खरिद गर्न सकिने सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *