काठमाडौँ । पछिल्ला दिनमा काठमाडौँमा डरलाग्नेगरी बढेको कोरोना संक्रमणको दर शनिबार झनै बढेको छ । शनिबार काठमाडौँ उपत्यकमा ७ सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा ५ सय ८३ जनामा संक्रमणको पुष्टि भएको छ भने भक्तपुर र ललितपुरमा क्रमश ६३ र ७८ जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तै आज देशभर १२ सय ०७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिँदै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ ।
जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । त्यस्तै नेपालमा आज १ हजार १ सय ४७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
यो सहित देशभर ५३ हजार १३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा निको हुनेको दर ७३ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
