विगत लामो समयदेखि खुला सिमानामा ‘काँडेतार अभियान’ चलाइरहनु भएको छ चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष, नायक तथा निर्माता नवल खडकाले । उहाँले उठाउदै आउँनुभएको ‘सिमानामा काँडेतार अभियान’ले अहिले सार्थकता पाउँदै गएको छ । यसै विषयमा सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खडकासँग  गरिएको कुरकानीको संक्षिप्त अंशः-

यहाँले उठाउँदै आउनुभएको काँडेतार अभियानको सार्थकता बढेर गयो हैन र ?
सिमानामा काँडेतार अभियानको सार्थकता थियो र नै यो अभियानमा सहभागीता बढिरहेको थियो । शुरूवाती अभियानकर्ताको नाताले भन्नु पर्दा, सिमाक्षेत्रमा बारम्बार हुने अपराधिक गतिविधिदेखि सिमाना मिच्ने दिनहुँ घट्ने घटनाक्रमले नै हामीलाई यस अभियानमा लाग्न अभिप्रेरित गरेका थिए । तर, अब पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता देव गुरुङ लगायतले समेत सिमानामा काँडेतार लगाउन पर्ने कुरालाई स्वीकार गर्नुभएको छ । अहिले हरेक देशभक्त नेपालीको मनमा सिमानामा काँडेतार लगाउनै पर्ने ठोस धारणा बनेको छ । यसकारण यो अब हाम्रो मात्र मुद्दा बनेन जवरजस्त राष्ट्रिय मुद्दाको रूपमा स्थापित भएको छ । ढिलो चाडो सीमानामा काँडेतार लाग्नेछ ।

भारतले नेपाली भूमि लिपुलेकमा बनाईएको सडकलाई कसरी लिनुभएको छ ?
यो भारतीय बिस्तारवादी नीति र हेपाहा तथा मिचाहा प्रवृत्ति हो । यसै प्रवृत्तिले भारतले हाम्रा सीमा मिच्ने र सीमा क्षेत्रका जनतालाई बारबार दुःख दिने गरिरहेको छ । यतिले मात्र नपुगेर नेपाल सरकार र नेपाली जनताले ऐतिहासिक प्रमाणका आधारमा आफ्नो भूमि भनिरहेका स्थानमा बाटो नै बनाउनु साना मुलुकलाई आक्रमण गरे जस्तै हो । यसबाट मेरो मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीको आत्मसम्मानमा चोट लागेको छ ।

सरकारले थाहा पाएर पनि नरोक्नु भित्री के हो कारण ?
निश्चय नै वर्तमान सरकारको कमजोरी हो । तर, यस सरकारको मात्र होइन । यो समस्याको जरो खोज्दा राजा महेन्द्र कै पालादेखिबाट खोज्नुपर्छ । तथापी पञ्चायतको अन्त्यपछि स्वर्गवासी प्रेमसिंह धामीले कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई नेपाली जनताबीच जानकारीमा ल्याउनु भएको थियो । त्यसपछि यसबारे जनताले र कम्युनिस्ट पार्टीका विद्यार्थी र युवाहरुले त्यहाँ पुगी साङ्केतिक विरोध गरेका थिए । तरपनि सरकार कहिल्यै गम्भीर भएन । जव–जव जनताहरु सडकमा विरोध गर्थे तव–तव सरकार र प्रतिपक्ष दलका नेताहरुले कर्मकाण्डी जस्तै भएर विरोध जनाउने गर्दथे । भारत सरकारले नेताहरुको मुटु छाम्दै सडक निर्माण गरिरहेको थियो । एक हिसावले यो म्याच फिक्सिङ नै जस्तो पनि लाग्छ । हामी जनतासँगै विरोध गरे जस्तै गर्छौं तपाईंहरु बनाउँदै गरे हुन्छ भनेजस्तो लाग्छ । किनकि नक्सा छाप्ने मात्र होइन पुरै भूमि ल्याउने हो भनेर लिम्पियाधुरासहितको नेपालको नक्सा नल्याउनुको कारण के हो ? यो कुरा प्रष्ट हुन बाँकी नै छ । तर, प्रष्ट भएको कुरा के हो भने यसो हुनुमा सरकारको निस्क्रियतामात्र होइन, लम्पसारवादी नीति हो । यो विभिन्नकाल देखिकै सरकारहरूको कुटनैतिक असक्षमता, लाचारिपन, दलालिपन हो ।

लामो समयदेखि काँडेतार अभियानका अभियन्ता रुपमा यहाँले विभिन्न क्रियाकलाप गर्दै आउनुभएको छ, यहाँको विचारमा अब के गर्नुपर्छ जस्तो लाग्छ ?
यसबारे मसँग कुनै त्यस्तो प्रष्ट जवाफ छैन् । तर, म प्रष्ट छु कि हामी भारतसँग लडाइँ गरेर भूमि फिर्ता गर्न सक्दैनौं । विदेश मामलाका जानकारहरुले विभिन्न विकल्पहरु ल्याइरहनु भएको छ । कसैले कुटनैतिक पहल गर्ने, दुईपक्ष, त्रिपक्ष (चीन, भारत, नेपाल) वार्ता गर्ने, अन्तर्रास्ट्रिय अदालत जाने आदि । जे भएपनि भारतले यस क्षेत्रमा गरेको हस्तक्षेप तुरुन्तै समाधान हुन नसक्ने अवस्था देखिन्छ । यसका लागि हामीले प्रमाणका साथ लामो कुटनैतिक अभियान जारी राख्नु पर्छ । तर, मौसमी बाजा बजाएर होइन, यो निरन्तर अभियान हो । यसका साथै अन्य खुला सीमानामा काँडेतार लगाउने कार्यलाई अगाडि बढाउनुपर्छ ।

Source: मिलाप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here